अनुशासन यसको अनिवार्यता
“जीवित परमेश्वरको मण्डली” नामक पुस्तकको पहिलो अध्यायमा हामीले यस पृथ्वीमा मण्डली नै परमेश्वरको घर हो भनेर बताएका थियौं अनि त्यसका नियम-क्रम र जिम्मेवारीहरू नै माण्डलिक चरित्रका प्रमुख बिचार हुन् भनेर औंल्याएका थियौं। हामीले अझ बढ्ता कुरा के पनि देख्यौं भने, परमेश्वर एक नियम र क्रमका परमेश्वर हुनुहुन्छ अनि यदि उहाँ आफ्नो घरमा बास गर्नुहुन्छ भने, अवश्यनै उहाँको घर अर्थात मण्डली उहाँको विचार अनुसारको अनि नियमअनुसारको हुनुपर्छ। यसकारण, “हे परमप्रभु, पवित्रतानै तपाईंको भवनलाई सुहाउँदछ।” (भजनसंग्रह ९३:५) यसैले, मण्डली जो उहाँको निवासस्थान (बासस्थान) हो, त्यसलाई पवित्र राख्नु हाम्रो जिम्मेवारी हो।
१ तिमोथी ३:१४-१५ मा हामी यस्तो पड्दछौं: “तिमीकहाँ चाँडै आउने आशा राख्दै म यी कुराहरू तिमीलाई लेख्दछु; तर म ढिलो भएँ भने परमेश्वरको घरमा, जो जीवित परमेश्वरको मण्डली हो, सत्यको खाँबो र जग हो, त्यसमा कसरी चल्नुपर्छ, सो तिमीले जान।” पावलले तिमोथीलाई यो पत्र लेख्नु पर्ने कारण अर्थात उद्देश्य यहि नै थियो ताकि तिमोथीले अनि हामी सबैले परमेश्वरको घरमा कसरी चल्नुपर्छ र व्यवहार गर्नुपर्छ सो जान्न सकेका हौं। यसरी हामीले जान्न सक्यौं कि हामी सबैले परमेश्वरको घरमा सुहाउँदो व्यवहार गर्नुपर्छ ताकि परमेश्वरको घरमा नियम-क्रम, पवित्रता र अनुशासन कायम भएकै हुनुपर्छ किनकि त्यो परमेश्वरको बासस्थान हो।
परमेश्वरको पवित्रता- मण्डलीमा अनुशासन अत्यन्तै आवश्यक कुरा हो किनभने परमेश्वर पवित्र र सत्य हुनुहुन्छ। (प्रकाश ३:७) उहाँ आफ्ना लोगहरूको माझमा बास गर्नुहुन्छ र उहाँका आँखाहरू यति शुद्ध छन् कि उहाँले दुष्ट कुराहरू हेर्न सक्नुहुन्न। (हबकूक १:१३) पवित्र र सत्य परमेश्वर बास गर्ने बासस्थानमा पापलाई न्याय नगरी त्यसै रहिरहन अनुमति दिनुहुन्न किनकि दुष्टतालाई उहाँ सहँदै सहनु हुन्न। उहाँको घर शुद्ध र सफा राख्नै पर्छ। भजनसंग्रह १०१:७ ले भन्दछ कि, “छली काम गर्नेहरू चाहिँ मेरो घरमा टिक्न पाउने छैन; झूट बोल्ने पनि मेरो नजरको सामने अडिन पाउने छैन।”
अनुशासनको बिषयलाई अध्ययन गर्दा हामीले यो कुरालाई स्मरण गर्नु अत्यन्तै महत्वपूर्ण कुरा हो। मण्डली परमेश्वरको घर हो भनेर शास्त्रमा उल्लेख भएको हुनाले अनुशासनलाई पनि हामीले परमेश्वरको घरको पवित्रताको दृष्टिकोणबाट हेर्नुपर्दछ। अनुशासनको बिषयलाई अगाडी बढाउँदा हामीले मण्डलीलाई ख्रीष्टको शरीर हो भनेर मात्र अध्ययन गर्दैनौ। अनुशासनको बिषयलाई चर्चा गर्दा परमेश्वरको घरको सत्यतालाई ध्यानमा राखेर चर्चा गर्नुपर्छ।
ख्रीष्टको अधिकारलाई कायम गरिएको हुनुपर्छ- हिब्रु ३:६ मा हामी यसो भन्ने पडछौं, “तर ख्रीष्ट ता उहाँको आफ्नो घरमा पुत्रको रूपमा अधिकारी हुनुहुन्थ्यो; उहाँको घर हामी हौं।” जब ख्रीष्ट नै परमेश्वरको घरको अधिकारी हुनुहुन्छ भने उहाँको अधिकारलाई कायम राखिएकै हुनुपर्छ र मानिसका अनियमिता र स्वेच्छालाई बाहिर निकाल्नु पर्छ। उहाँलाई जे कुराहरू स्वीकार्य छन् ती मात्र प्रकट हुनुपर्छ। यसकारण उहाँको वचनको नियम र क्रमलाई कायम राख्ने र उहाँको घरलाई शुद्ध राख्ने जिम्मेदारीमा हामीले काम गर्नुपर्छ। ख्रीष्ट परमेश्वरको घरमा अधिकारी हुनुहुन्छ भन्नुको अर्थ ख्रीष्ट स्वयंले मण्डलीमा अनुशासनलाई कायम गर्नुहुन्छ। यो ख्रीष्ट स्वयंको अनुशासन हो। माण्डलिक अनुशासन आचरण र स्वभावमा एक धार्मिक चरित्रको हुन्छ। पिताको अनुशासन चाहिँ पिताले आफ्ना बालकलाई ख्याल र वस्ता गर्ने किसिमको हुन्छ। यो व्यक्तिगत प्रेमको व्यवहारबाट बगेर आउँछ र आफ्नो गल्ति गर्ने बालकप्रति बगेको पिताको अनुग्रह हो। यो चाहिँ पिताले आफ्ना परिवारलाई गर्ने प्रेम र वस्ता हो तर पुत्रले आफ्नो घरमा अधिकार गर्नुहुन्छ भन्ने अनुशासन चाहिँ पिताले गर्ने अनुशासनभन्दा बेग्लै किसिमको अनुशासन हो।
अनुशासन भनेको नियमको अधिनमा रहनु, तालिम, अर्ती, सुधार र ताड्नाद्वारा आज्ञाकारी बानी-व्यवहारको बिकास गर्नु हो। यो चेलापनको शैक्षिक तालिम हो। यस्तो तालिम घरमा, स्कूलमा, सरकारमा र त्यस्तै किसिमले परमेश्वरको घरमा आवश्यक छ। कुनै पनि संस्था र शैक्षिक केन्द्रहरूले बिना अनुशासन सफलता हाँसिल गर्न सक्तैनन्।
यदि मण्डलीमा ईश्वरीय नियम अनि अनुशासन कायम राखिएको छैन भने यो चाँडै नै स्पष्ट हुनेछ कि अनुशासनको अभावले पवित्र आत्माको कार्यमा प्रशस्त बाधा पुगेको प्रमाणित हुनेछ र उहाँको सेवालाई बन्द गर्दछ। ख्रीष्ट र उहाँको वचनको विपरितमा गरिने हरेक कार्यले परमेश्वरका आत्मालाई शन्ताप दिन्छ। उहाँले अनाज्ञाकारीता, मानिसका स्वेच्छा र न्याय नगरिएका पापहरूलाई आशिष दिन सक्नुहुन्न। यदि हामी प्रभुका घर भएर पनि प्रभुको महिमाका लागि गर्नु पर्ने अनुशासनलाई हेल-चेक्राईं गर्यौं भने मण्डलीमा आत्मिक अनिकाल पर्छ र ईश्वरीय शक्तिको अभाव निश्चय खड्किन्छ।
पापको खामिरी गुण- मण्डलीमा अनुशासानको आवश्यकता पर्ने अर्को कारण त्यो हो कि पाप चाहिँ एउटा खमिर हो जसले सम्पूर्ण ढिकालाई खमिरी बनाईदिन्छ। प्रेरित पावलले यस बारेमा १ कोरिन्थी ५:६-८ मा बताएकाछन्: “अलिकति खमिरले जम्मै ढिकालाई खमिरी बनाईहाल्छ भन्ने के तिमीहरूलाई थाहा छैन ? पूरानो खमिरलाइ निकाल, र तिमीहरू बिना खमिरका भए झैं नयाँ ढिका बन।” खमिरको स्वभाव यस्तो हुन्छ कि यसको अलिकति सानो कणले पनि समस्त ढिकालाई खमिरी बनाईहाल्छ। यसको खमिरी प्रभावलाई रोकथाम गर्नलाई कि त यसलाई सम्पूर्णरूपले निकाल्नु पर्छ कि त चुल्होमा हालेर सेक्नुपर्छ अर्थात पकाउनुपर्छ। त्यसो गरेमा मात्र खमिरको असरलाई सखाप पार्न सकिन्छ। यस्तै प्रकारले यदि पापलाई न्याय गरिएन र शुद्धि गरिएन भने पाप मण्डलीमा फैलिन्छ र समस्त जमघटलाई खमिरि तुल्याउँछ। पापले अशुद्धतालाई निम्त्याऊँछ। यसकारण जहाँ पाप देखा पर्छ, त्यसलाई त्यहाँ नै अनि त्यतिबेलै न्याय गरिहाल्नुपर्छ, नत्र भने यो फैलिन्छ अनि समस्त संगतिलाई भ्रष्ट पार्छ।
यसैकारण मण्डलीमा पापको अशुद्ध प्रभावलाई अवरोध अर्थात रोक लगाउन ईश्वरीय अनुशासनको जरुरत पर्दछ, जसले मण्डलीलाई शुद्ध र अखमिरी राख्न सक्दछ। यदि कसैको हृदयमा पापको खमिरले काम गरिरहेकोछ र कसैको आदेश, अनुरोध, चेतावनी, हप्काई र उसप्रति देखाईएको ईश्वरीय ख्याल र वस्तालाई अस्वीकार गर्दछ र आफ्नो ईन्साफ आफै गर्दैन तर आफ्नो गतिमा दृडतापूर्बक लागिरहन्छ भने मण्डलीले उसलाई उचित समयमा व्यवहार गर्नुपर्छ। मण्डलीले उसलाई बचाउने हर प्रयास गरिसकेपछि यस्तो खमिरि व्यक्तिलाई एउटा दुष्ट व्यक्तिकोरूपमा अलग गरेर हटाउनुपर्छ, ताकि त्यो अशुद्ध व्यक्तिद्वारा समस्त जमघट नै खमिरी नहोस्।
तर हामीले कहिल्यै पनि अनुशासनलाई एउटा संकल्पित र न्यायी कामको रूपमा मात्र लिनु हुँदैन जहाँ एउटा व्यक्तिलाई बाहिष्कार गरेर मण्डली बाहिर निकालिन्छ। अनुशासनको मूख्य उद्देश्य भनेको नै कसैलाई विश्वासीहरूको संगतिबाट बाहिर निकाल्ने अवस्थाबाट रोक्नु हो। अनुशासनको कार्यलाई अगाडी बढाउँदा दशभागमा नौ भाग चाहिँ व्यक्तिगतरुपमा नै गरिनुपर्छ। त्यहाँ गोठालोको ख्याल र वस्ताको अभ्यास भएको हुनुपर्छ। यी कति व्यक्तिगत प्रयासहरू सबै असफल भए भने मात्र दशौं भाग अर्थात समस्त मण्डलीले त्यस प्रकृयमा क्रियाशिल हुनुपर्छ। मण्डलीले हतार-हतार गरेर न्याय पारित गर्नु हुँदैन। सबै अनुशासनको लक्ष्य र उद्देश्य भनेको कसैको सुधार र पुनरूद्धार गर्नु हो। यसलाई अझ उचितरूपमा भन्नु हो भने कसैलाई मण्डलीबाट बाहिर निकाल्ने चरमसीमाको नियम अनुशासन होइन। कसैलाई मण्डलीबाट बाहिर निकाल्नु पर्ने अवस्था आउनु भनेको त्यस व्यक्तिलाई बचाउन र सुधार गर्न गरिएका हरेक प्रयासहरू असफल भए भनेर सबैले स्वीकार गर्नु हो अनि दुष्ट व्यक्तिलाई गरिएको अनुशासन प्रभावकारी भएन भनेर मान्नु हो। यसरी मण्डलीबाट बहिष्कार गरिएको व्यक्तिको बारेमा मण्डलीले केहि भन्न र गर्न नसक्ने अवस्था आएको हो। यस्तो व्यक्ति पश्चताप गरेर प्रभुमा पुन:स्थापन नभएसम्म मण्डली केहि भन्नु हुँदैन।
मण्डलीभित्र अनुशासनलाई यसको विभिन्न रूपमा कायम गरिन्छ अनि परमेश्वरको महिमा र आत्माहरूको आशिषका निम्ति अभ्यास गरिन्छ। (१ कोरिन्थी ५:१२) यसो गर्नाले मात्र सन्तहरू आज्ञापालनको बाटोमा अग्रसर हुन्छन्, प्रभुको मार्गमा प्रशिक्षित (तालिम पाउँछन्) हुन्छन्, अनि सन्तहरूलाई सुहाउँदो र ख्रीष्टलाई मन पर्दो क्षेत्रमा शिक्षित हुँदै जान्छन्। त्यस पछि मात्र अहिलेसम्म हाम्रा सामुमा रहेको बिषयको दृष्टिकोणमा परमेश्वरको वचन अनुरुपको अनुशासनमा मण्डलीमा लागू गर्न सकिन्छ-जुन मण्डली चाहिँ परमेश्वरको घर हो।
अनुशासनको उद्देश्य
१ ) परमेश्वरको महिमालाई कायम गर्नु-
निश्चय नै मण्डलीमा अनुशासनलाई लागू गर्दा हाम्रो प्रथम चाहाना भनेको परमेश्वरको महिमालाई कायम गर्नु र उहाँको नामको आदरका लागि गर्ने हुनुपर्छ। उहाँ मण्डलीमा बास गर्नुहुन्छ अनि त्यहाँ कुनै दुष्टतालाई अनुमति दिने काम भयो भने ख्रीष्टको पवित्र नाम त्यसमा मुछिन्छ अनि उहाँको बहुमूल्य अनि पुजनीय नामको अनादार हुन्छ। मण्डलीलाई उहाँको पवित्र उपस्थितिको योग्य स्थान बनाईराख्नुपर्दछ। औ प्रकट भएका हरेक दुष्टता र सबै किसिमका पापहरूलाई इन्साफ गरी उहाँको महिमा र मर्यादा (आदर) कायम राख्नुपर्दछ। यहि नै मण्डलीको अनुशासनको पहिलो उद्देश्य र लक्ष्य हुनुपर्छ। एउटा कुबाटो लाग्ने मानिसलाई सुधारेर त्यसको दुष्टतालाई न्याय गरेर, उहाँको नाउँलाई संसारको सामु स्वच्छ तुल्याईएको हुनुपर्छ। उहाँको महिमा र मर्यादा (आदर) कायम राखिएको हुनुपर्छ। यदि एउटा मण्डलीले कुनै पनि शैद्धान्तिक र नैतिक दुष्टतालाई न्याय गर्नलाई अस्वीकार गर्दछ भने, त्यो परमेश्वरको मण्डली हुँदै होईन, तर उहाँको नाउँप्रति एउटा अनादर र अपमान हो।
२) मण्डलीको सफाई-
यस कुरालाई हामीले पहिल्यै चर्चा गरेका कुरासँग प्रतक्ष सम्बन्ध राख्दछ कि दुष्टतालाई अनुशासनद्वारा न्याय गरेर मण्डलीलाई संसारको दृष्टिमा शुद्ध राख्नु नै मण्डलीको सफाई गर्नु हो। हामी संसारमा ज्योति झैं चम्किनु पर्छ ता कि उनीहरूले हाम्रा असल कामहरू देख्न सकून् र हाम्रा स्वर्ग हुनुहुने पिताको महिमा गरुन्। (मत्ती ५:१६) यस क्षेत्रमा अर्थात यस दृष्य हामीले एउटा गवाही कायम राख्नुपर्छ किनकि परमेश्वरको मण्डलीसित सम्मिलित भएकाहरूको आचरणलाई यस संसारले नियालेर हेर्दछ।
जब एउटा विश्वासी पाप र दुष्टतामा फँस्दछ, तब प्रभुको नाउँको अनादर हुन्छ अनि मण्डलीको गवाहीमा बदनामी ल्याउँदछ। तर यदि यस्ता दुष्टताको न्याय गरिन्छ अनि दोषीमाथि अनुशासनको कारवाई गरिन्छ भने अनादर नै भएता पनि कमसेकम मण्डलीको गवाही संसारको दृष्टिमा कायम रहन्छ। किनकि जब कुकर्मीहरू बहिस्कृत हुन्छन् र उनीहरू मण्डलीमा नरहेको देखा पर्दछ, तब मण्डलीप्रति संसारको सम्मान सुरक्षित रहन्छ। अनि मण्डलीका माझमा उम्रेर आएको पापको खुलमखुल्लारूपले सफाई हुन्छ। प्रभुको नाउँ जो मण्डलीसँग सम्बन्धित रहेको हुन्छ त्यसको रक्षा भएको पुष्टि हुन्छ।
कोरिन्थीहरूले अनुशासनको कारवाई गरेर कुकर्मी (दुष्ट काम गर्ने) लाई मण्डलीबाट बाहिष्कार गरेपछि, पावलले तिनीहरूलाई यसो भनेर लेख्न सके, “यी सबै कुरामा तिमीहरूले आफैलाई यस बिषयमा सफा भएको प्रमाण दियौ।” (२ कोरिन्थी ७:११)
यदि कोहि व्यक्ति मण्डलीमा अलि-अलि लापरबाही बन्दै हिंडिरहेको छ अनि अनुशासनको कार्यद्वारा सुधारिंदैछ र उसको चालचलन सप्रिन्दैछ भने संसारले त्यस कुराको पनि ख्याल राख्छ। यसो गर्नाले प्रभुको नाउँ महिमित बन्छ अनि एउटा असल गवाही मण्डलीबाट बाहिर प्रसारित हुन्छ। विश्वासीहरूको संगतिका लागि यी सबै कुरा महत्वपूर्ण र आवश्यक हुन्। सबैका लागि अनुशासनको उद्देश्य यस्तै हुनुपर्छ।
३) नियम उलंघन गर्ने व्यक्तिको भूल सुधार-
अनुशासनको अर्को उद्देश्य भनेको अपराध अर्थात गल्ति गर्ने व्यक्तिलाई सुधार गर्नु हो अनि उसले परमेश्वरको वचनबाट के सिक्नु पर्नेछ सो सिकाउनु हो। परमेश्वरले हामीलाई उहाँको वचन दिनुभएकोछ अनि त्यसलाई अध्यायन गर्ने, पवित्र आत्माको अगुवाईमा सिक्ने र हाम्रा चाल-चलन र व्यवहारप्रति उहाँको मन के छ भन्ने कुरालाई जान्नु हाम्रो जिम्मेवारी हो। पवित्र शास्त्र, “शिक्षा दिनलाई, दोष प्रकट गर्नलाई, सुधार गर्नलाई, धार्मिक्तामा उपदेश दिनलाई लाभदायक छ।” (२ तिमोथी ३:१६) तर यदि कुनै विश्वासी लापरवाही बन्दछ, परमेश्वरको वचनमा ध्यान लगाउँदैन र वचनको विपरितमा हिंड्छ भने मण्डलीले उसको लापरवाही जीवन र सुस्त अवस्थाबाट जगाउनुपर्छ र अनुशासनको कार्य द्वारा सतर्क गराउनु पर्दछ। उसले परमेश्वरको वचनबाट के सिक्नुपर्दछ अनि उसको चालचलन कस्तो हुनुपर्छ भन्ने कुरालाई महसुस गर्न लगाउनुपर्छ। यसरी, अनुशासनको कार्यद्वारा सन्तहरूलाई प्रभुको मार्गमा हिंड्नलाई तालिम दिनुपर्छ र प्रभुको वचनमा आज्ञाकारी बन्नलाई सिकाउनुपर्छ।
4) आत्माहरूको पुनरूद्धार अनि लाभ-
अनुशासनको प्रमूख उद्देश्य भनेको नै गल्ति गर्ने व्यक्तिलाई सुधार गर्नु र उसलाई प्रभुसँग अनि प्रभुका जनहरूसँगको संगतिमा पुन:स्थापित गर्नु हो भनेर हामीले पहिला नै उल्लेख गरेकाछौं। अनुशासनको विभिन्न रुप हुन्छन् अनि यी कुनै पनि अनुशासनको रूपलाई अभ्यास गर्नुको उद्देश्य भनेको कसैको सुधार गर्नु र उसलाई आशिषको स्थानमा फेरी स्थापित गर्ने हो। आफ्ना नानीहरूलाई ताड्ना दिनुमा पनि परमेश्वरको उद्देश्य यहि रहेकोहुन्छ। हिब्रु १२:१०,११ ले यसो भन्दछ, “हामी उहाँको पवित्रताको सहभागी हौं भनेर हाम्रो फायदाको निम्ति हो”, अनि जसलाई अनुशासन गरिएको हुन्छ उसले, “धार्मिकताको शान्तिदायक फल प्रदान गर्दछ। यसैले मण्डलीले अनुशासनको कार्यलाई अगाडी बढाउँदा जहिले पनि आत्माहरूको आत्मिक भलाई र फायदाका खोज्नका लागि अगाडी बढाउनु पर्दछ। यो कार्य एउटा आत्माका लागि अत्यन्तै अर्तीपूर्ण हुन सक्छ, रोकथामका लागि हुन सक्छ, सुधारात्मक हुन सक्छ अर्थात दण्डात्मक हुन सक्छ, तर जसमाथि अनुशासन गरिन्छ उसको हृदय को निम्ति भने फायदाजनक हुन्छ।
अनुशासनको कठोर कार्य गर्नु पर्ने अवस्था आउँदा पनि यो ख्याल गर्नु अत्यन्तै आवश्यक छ कि मण्डलीबाट बाहिष्कार गर्ने जस्तो कठोर कार्य गर्दा या अनुशासनलाई समापन अर्थात अन्त्य गर्दा, यसको उद्देश्य भने प्रेरित पावलको जस्तै हुनुपर्छ-प्रेरित पावल भन्छन्, “कि घिनलाग्दो पाप गराउने शरीर नाश होस्-तोडियोस् र प्रभु येशूको आत्माले चाहिँ उद्धार पाओस्। (१ कोरिन्थी ५:५) यो बिचार अत्यन्तै अमूल्य छ र ध्यान दिने योग्यको छ, किनकि हरेक अनुशासनको कार्य गर्दा एउटा धन्यको परिणाम आएको होस् भनेर आशा गर्नु यसको उद्देश्य हो। यो बाहेक हाम्रो हृदयमा अनुशासन सम्बन्धि अन्य कुनै पनि उद्देश्य हुँदैन।
दुष्ट काम गर्ने मानिसले ल्याएको अपमानबाट छुट्कारा पाउने हिसाबले अथवा त्यस मानिसले दिने अनेक समस्य र दु:खबाट मुक्त हुनका लागि हामीले कहिले पनि अनुशासनको कार्यलाई अगाडी बढाउनु हुँदैन अर्थात त्यस्ता व्यक्तिलाई फाल्ने काम गर्नुहुँदैन। हुन त त्यस मानिसले सन्तहरूलाई धेरै दु:ख दिएर थकित नै बनाएको होला। गल्ति गर्ने मानिसमाथि क्रोध खन्याउने र बद्ला लिने उद्देश्यले पनि अनुशासनको कार्यलाई अगाडी बढाउनु हुँदैन तर हामी सबैमा यस्तो अनुशासनको कार्यलाई अगाडी बढाउनु आवश्यक परयो भनेर गहिरो दु:ख मान्नुपर्छ। अनि जसलाई अनुशासन गरेर बाहिष्कार गरिन्छ, उसका निम्ति धेरै प्रार्थनासहित सम्पर्क गरिरहनुपर्छ ताकि उनीमाथि लगाइएको अनुशासनले तिनलाई सकारात्मक असर पर्दैछ र उसले खराबी गर्न छोड्दैछ कि छैन भनेर उसलाई सम्पर्क गरिरहनु पर्छ। अनि समयमा उसलाई प्रभुमा पुन:स्थानपन गर्नुपर्छ साथै सन्तहरूको संगतिमा पनि।
कोरिन्थीहरूले तिनीहरूको बीचबाट बाहिष्कार गरेको एउटा दुष्ट मानिसमा एउटा धन्यको परिणाम देखिएको थियो। कोरिन्थीहरूलाई लेखेको आफ्नो दोस्रो पत्रिमा प्रेरित पावल भन्छन् कि “उसलाई दिएको यो सजाय यथेष्ट छ अनि तिमीहरूले उसलाई क्षमा गर्नुपर्छ र सान्त्वना दिनुपर्छ अनि तिमीहरूले त्यस मानिसप्रति आफ्नो प्रेम पुष्टि गर्नुपर्छ, नत्रता ऊ झन् बढ्ता शोकले चुर्लुम्म डुब्नेछ।” (२ कोरिन्थी २:६-८) यहाँ बाहिष्कारको उद्देश्यमा राखिएको चाहना पूरा भएको थियो। ऊ अहिले पूर्णरूपले तोडिएकोछ, पश्चाताप गरेकोछ, प्रभुमा पु:नस्थापित भएकोछ र अब विश्वासीहरूले दिने क्षमा ग्रहण गर्न तयार छ र मण्डलीको संगतिमा पुन:निर्माण हुन तयार भएको थियो। अनुशासनको कति धन्यको परिणाम देखियो। यस्तै परिणामका लागि हामीले लक्ष्य राखेर प्रार्थना गर्नुपर्छ।
यसलाई व्यवहार गर्ने ढाँचा
अहिले हामी हाम्रो बिषयको अत्यन्तै प्रमुख पक्षमा आईपुगेकाछौं-अनि त्यो पक्ष भनेको अनुशासनलाई परिचालन गर्ने आत्मा र त्यसलाई व्यवहार गर्ने ढाँचा हो। मण्डली भनेको एउटा न्याय गर्ने अदालत मात्र होइन, जहाँ निश्चित कानुनहरूद्वारा अपराधहरूको मुद्दालाई न्यायको प्रक्रिया अनुसार जारी गरिन्छ। अदालतीय प्रक्रिया अनुसार मण्डलीमा कारवाही गर्ने काम गर्नु चाहिँ अनुग्रहको धरातलबाट सम्पूर्णरुपले बाहिर जानु हो-जुन अनुग्रहको धरातलमा नै हामी परमेश्वरको सामु खडा रहेकाछौं।
हामी के हौं सो थाहा गरौं-
जसरी, कसैले राम्ररी भनेका छन्: “जब हामी अनुशासनको व्यवहारको बारेमा बात गर्छौं, त्यस समयमा हामी आफैमा के हौं अर्थात आफैमा जे छौं सो थाहा गर्नुपर्छ- यो एउटा बहुतै गम्भीर कुरा हो। जब म आफै एउटा नीच पापीलाई परमेश्वरको कृपाद्वारा मात्र बचाएको हो भनेर बिचार गर्छु र प्रभु येशूले ग्रहण गर्नुभएको सत्यतामा खडा रहेको कुरालाई बिचार गर्छु, म आफैलाई नीच पापी अवस्थामा पाउँछु। त्यसैले अनुशासनको कार्यलाई मैले मेरो हातमा लिएर व्यवहार गर्नु प्रत्यक्षरूपले एउटा भयानक कुरा हो भन्ने म बुझ्छु। परमेश्वर बाहेक कसले न्याय गर्न सक्छ र? यो नै मेरो पहिलो चिन्तन हुनेछ।
प्रभुका प्रिय जनहरूका बीचमा म एउटा शुन्य र रित्तो व्यक्ति रहेको थाहा गर्दै म त्यहाँ खडा रहेको हुन्छु। मैले प्रभुका जनहरूलाई जहिले पनि मभन्दा श्रेष्ठ ठान्नुपर्छ। प्रभुको नजरमा अर्थात प्रभुको सामु म आफै पापपूर्ण अवस्थामा छु र म शून्य छु भन्ने कुरा याद गर्नुपर्छ र अनुशासनको बिषयमा बात गर्ने म योग्य छैन भनेर महसुस गर्नुपर्छ। यो अत्यन्तै गम्भीर बिचार हो। वस्तवमा मेरो मनमा यस बिषयले अनौठो किसिमको दबाउ दिनुपर्छ। केवल एउटा कुराले मात्र मलाई त्यस्तो अनुभूतिबाट बाहिर निकाल्न सक्छ अनि त्यो अनुभूति चाहिँ प्रेम गर्ने व्यक्तिको शक्ति हो अर्थात प्रेमको शक्ति हो। जब प्रेमलाई यथार्थमा अभ्यास गरिन्छ, यसले केहि कुराको प्रवाह गर्दैन, मात्र प्रेमको उद्देश्यलाई पूरा गर्न चाहन्छ। यद्यपि धार्मिकतालाई कायम गर्ने नै उद्देश्यले यो काम गरिएको भए ता पनि यसलाई क्रियाशील र सफल बनाउने भनेकै प्रेम हो। मण्डलीको पवित्रता र धार्मिकताका लागि प्रेमले सबै किसिमको दु:खको मूल्य चुकाउन तयार हुन्छ। यो शरीरको श्रेष्ठताको पद र स्थान होइन।” (J.N.D)
गलाती ६:१ पदले हामीलाई आदेश दिन्छ: “हे भाई हो, कुनै मानिस कुनै अपराधमा पक्रा परयो भने, तिमी आत्मिकहरूले त्यस्तोलाई नम्रताको आत्माले उठाओ, र कहीं तिमी आफै पनि परिक्षामा पर्छौ कि भनेर आफुलाई विचार गर।” नम्रताको आत्माले मात्र भूल गर्ने व्यक्तिलाई व्यवहार गर्नुपर्छ तर आफैलाई त्यस व्यक्तिभन्दा उत्तम ठानेर होइन। यो याद गर्नुहोस् कि यहाँ पुन:स्थापनको लक्ष्य राखिएको छ।
शोक अनि सहभागिता-
जब पावलले कोरिन्थीहरूलाई उनीहरूका मध्येमा न्याय नगरिएको दुष्टताको बारेमा लेखेका थि, उनले तिनीहरूलाई निन्दा गरेका थिए किनभने यस्तो काम गर्ने तिनीहरूबाट हटाईयोस् भनेर तिनीहरूले शोक गरेका थिएनन् तर उनीहरू अझ घमण्डले फुलेका थिए। (१ कोरिन्थी ५:२) यसरी हामी देख्न सक्छौं कि जब कसैलाई दुष्ट ठानेर संगतिका निम्ति अयोग्य ठानेर बाहिष्कार गरिन्छ, त्यस समयमा शोक गर्ने र हृदयदेखि गहिरो वेदना व्यक्त गर्ने नै मण्डलीको आचरण हुनुपर्छ। कठोरता, अदालतीय ढंग र फरीसिक तरिकामा व्यवहार गर्नुको सट्टामा त्यहाँ शोक प्रकट गरिएको हुनुपर्छ, आफै बिनम्र बन्नुपर्छ र हाम्रा माझमा यस्तो सर्मिन्दित कुरा आयो भनेर साझा स्वीकार हुनुपर्छ। परमेश्वरको घरमा आएको सर्मिन्दाप्रति गहिरो दु:ख व्यक्त गरिएको हुनुपर्छ। कसैलाई संगतिबाट काटेर फ्याँक्ने चरमसीमाको कारवाई पनि गर्नु पर्र्यो भनेर आत्मा निन्दा भनौं आफैलाई निन्दा गरिएको समय हुनुपर्छ। अब प्रश्न उठ्छ: के भूल गर्ने व्यक्तिलाई प्रशस्त मात्रमा हेरविचार गरियो त? के उसका निम्ति प्रार्थना गरियो त? के उसका निम्ति अरू विश्वासीहरूले एक ईश्वरीय ढाँचा र उदाहरण देखाईयो त? के उसका लागि साँचो गोठालोको अभ्यास र ख्याल दर्शाइयो त? यो शर्मको विषयलाई साँचोरितीले अनुभव गर्ने हृदयहरूमा यी सबै प्रश्नहरू अवश्यनै उठ्नेछन्।
अझ बढ्ता, त्यो भूल गर्ने व्यक्तिको दुष्टतालाई हेर्नु सट्टामा मण्डलीले त्यो आफ्नै पाप थियो भनेर स्वीकार गर्नुपर्छ र त्यो शरम र निन्दालाई आत्मासाथ गरी सामूहिक स्वीकारमा अग्रसर हुनुपर्छ। पावलले कोरिन्थीहरूलाई लेख्छन् : “तिमीहरूले …… बरू शोक त गरेनौ।” यो वस्तवमा तिनीहरूको पाप थियो; तिनीहरू एउटा परिवार भएका नाताले एउटा व्यक्तिको भूल र पापको शर्मिन्दामा उनीहरू सबै सामेल थिए र उनीहरू उसको पापसँग एक ठहरिएका थिए।
यसकारण, कसैले यसरी लेखेका छन्: “एउटा व्यक्तिको पापसित मण्डलीले आफैलाई एक नगरेसम्म अर्थात उसको पापमा मण्डली आफैलाई सामेल नभएसम्म मण्डली त्यस व्यक्ति उपर अनुशासनको व्यवहार गर्ने स्थितिमा पुगेकै हुँदैन भनौं मण्डली तयारी अवस्थामा पुगेको हुँदैन। यदि मण्डलीले पाप गर्ने व्यक्तिको पापसित सामेल नभई अनुशासन गर्न ताम्सियो भने, त्यो न्यायले एउटा अदालतीयरुप लिन्छ जो चाहिँ ख्रीष्टको अनुग्रहको प्रशासनबाट गरिएको हुँदैन। ……… एउटा व्यक्तिको पापलाई सम्पूर्ण मण्डलीले आफ्नै पाप हो भनेर स्वीकार नगरेसम्म मण्डलीले अनुशासनको कार्यलाई अघि सार्ने अवस्थामा हुँदैन। मण्डलीले यो अवस्थालाई स्वीकार र पहिचान गरेको हुनुपर्छ। आफ्नो विवेक सफा नभएको अवस्थामा अर्थात दुष्टको शक्ति र पापलाई परमेश्वरको साम्नेमा महसुस नगरी भनौं त्यो पाप आफैले गरेको हो भनेर नमानेसम्म कुनै पनि व्यक्ति वा ख्रीष्टियनहरूको समुदायले अनुशासनको कार्यलाई अभ्यास गर्न सक्छ भनेर म कहिले पनि बिश्वास गर्दिन। अनुशासनको कार्यलाई अगाडी बढाउनुको तात्पर्य नै आफैलाई चोख्याउनु आवश्यक ठान्नु हो।” (J.N.D)
पूरानो नियममा पूजाहारीहरूले मानिसहरूका निम्ति चडाईएको पाप बलिलाई पवित्रस्थानमा खानुपर्थ्यो। (लेवी १०:१७,१८) उनीहरूले सारा समुदायको अधर्मलाई बहन गर्नुपर्थ्यो अनि तिनीहरूका निम्ति प्रायश्चित गर्नुपर्थ्यो। यसले हाम्रा निम्ति पूजाहारीले अन्तरबिन्तिको काम गर्नुपर्ने नक्शालाई देखाउँदछ। अर्काको पापलाई आफ्नै पाप बनाएर पितासँग अर्जबिन्ति गर्ने कुरालाई संकेत गर्दछ। यसो गर्दा ख्रीष्टको शरीरमा आएको अनादरको उचित उपचार हुनसक्छ। अनुशासनलाई अभ्यास गर्दा यहि पूजाहरीको आत्माले गरिएको हुनुपर्छ।
प्रेरितले तिनीहरूको मध्येबाट त्यो दुष्ट व्यक्तिलाई निकाल्ने आदेश दिएर कोरिन्थीहरूलाई कडा आज्ञा त् दिए तर त्यसो गर्दा धेरै दुखको साथ लेखेका छन्। धेरै संकट र हृदयको वेदनाले र धेरै आँसु बगाउँददै मैले तिमीहरूलाई लेखेथें।” (२ कोरिन्थी २:४) अनुशासनमा अभ्यास गरिनुपर्ने यो मात्र उचित आत्मा हो।
यसका विभिन्न रुपहरू
अहिलेसम्म हामीले मण्डलीमा अनुशासनको आवश्यकता, यसको उद्देश्य र यसलाई मण्डलीमा अभ्यास गर्ने आत्माको आचरणको बिषयलाई हेर्दै आएकाछौं। यहि पृष्ठभूमिसँगै अब हामी अनुशासनको बिषयलाई नै हेर्नेछौं जो पवित्र शास्त्रमा हाम्रा लागि प्रस्तुत गरिएकोछ।
अनुशासनको बिषयलाई अध्यान गर्ने क्रममा हामी यसका विभिन्न रुप र चरणहरूलाई पाउँदछौं जो मण्डलीमा अभ्यास गरिरहनुपर्छ। अनुशासनले एउटा व्यवहारिक बिषयलाई अंगाल्दछ। यसको बृहद अर्थमा यसले परमेश्वरको घरमा लागू हुने नियम र प्रशासनलाई समेट्दछ। यस परिभाषा अनुरुप यसको अर्थ यहि हो कि उहाँको घरको प्रशासनमा हाम्रो जिम्मेवारी रहेको हुन्छ। यसकारण, यसका विभिन्न रुप हुन्छन् जहाँ हाम्रो ख्याल र वस्ता प्रकट हुन्छ। यो साधारणतय एउटा भात्रीप्रेमबाट शुरू भएर सल्हा, सुझाव, सुधार र सामूहिक हप्काईसम्म पुग्दछ । कतिपटक मण्डलीबाट एउटा दुष्ट मानिसलाई निकाल्नु पर्ने आवश्यकता पनि पर्दछ।
अनुशासनलाई केवल मण्डलीको कारवाही हो भनेर बिचार गर्नुहुँदैन। यो त्यो भन्दा ज्यादै बढ्ता कुरा हो। यसले एउटा आत्मालाई परमेश्वरको मार्गमा हिड्नलाई उपदेश दिने काम, सुधार गर्ने काम, आज्ञाकारी बन्नलाई तालिम दिने काम, नियमको अधिनमा रहन सिकाउने काम र एउटा आत्मासँग व्यवहार गर्नलाई गोठालोका सबै प्रयासहरूलाई समेट्दछ। अनुशासनका अधिकांश मुद्दाहरूलाई एउटा स्थानीय मण्डलीमै व्यक्तिगत हिसाबले व्यवहार गर्ने गरिन्छ। यो काम स्थानीय मण्डलीका अगुवा र गोठालाहरूको चरित्रमा गर्नुपर्दछ। यस्तो अभ्यास चौकोस र होसियारीकासाथ गर्नुपर्छ। गोठालाले भेडाहरूको ख्याल गर्ने हिसाबले गर्नुपर्छ। गोठालाले भेडाहरूलाई खुवाउने काम गर्नुपर्छ, सुरक्षा गर्ने काम गर्नुपर्छ, डोरयाउने काम गर्नुपर्छ, सुधार गर्ने काम गर्नुपर्छ, प्रेमसहित सम्झाउने काम गर्नुपर्छ। यी सबै नै अनुशासनका अत्यन्तै महत्वपूर्ण चरणहरू हुन्। यी सबै चरणका अनुशासनलाई राम्ररी कायम गरेमा बाहिष्कार जस्तो अनुशासनको कठोर चरणलाई लागू गर्न आवश्यक पर्दैन।
यो अत्यन्तै महत्वपूर्ण कुरा हो कि यस्तो ख्याल वस्ता मण्डलीमा अभ्यास गरिएकै हुनुपर्छ । हरेक अनुशासनको कार्य यी नै कदमहरूबाट शुरू हुन्छ।
यो निश्चय हो कि परमेश्वरको घरमा गरिने गल्ति र अपराधका पनि विभिन्नरुप हुन्छन्। कति गल्ति र अपराधहरू अन्य कति गल्ति र अपराधभन्दा ज्यादै गम्भीर चरित्रका हुन्छन् जसलाई अनुशासनको कठोर व्यवहार गरिहाल्नुपर्छ। कति गल्ति र अपराधहरू सामान्य किसिमका हुन्छन् जसलाई त्यति कठोर व्यवहार गरिहाल्नु पर्दैन। यसैकारण परमेश्वरको वचनले हामीलाई अनुशासनका विभिन्न रुप र स्तर देखाएको छ जसलाई मण्डलीमा लागू गर्नुपर्दछ। हरेक मुद्दालाई त्यसको दोषको आधारमा व्यवहार गर्नुपर्दछ। यसो गर्नलाई मण्डलीका सदस्यहरूमा एउटा आत्मिक अन्तरदृष्टिको जरूरी पर्दछ जसले निश्चित गर्न सक्छन् कि कस्तो दोषलाई कस्तो व्यवहार गर्नुपर्छ भनेर।
यी सामान्य वचनको चर्चा पछि अब हामी अनुशासनको निश्चित आकारतर्फ अगाडी बढ्नेछौं।
Comments
Post a Comment