अभिषेक जोशीले एउटा भिडियोमार्फत विश्वभरिका पास्टरहरूलाई चुनौती दिंदै डिसेम्बर २५ नै येशू ख्रीष्टको जन्मदिन हो भनेर पवित्र शास्त्रका चार सुसमाचार मत्ती, मर्कूस, लूका र यूहन्नाबाट प्रमाण गर्नलाई कसिलो तर्क राखेकाछन्। उनको तर्क र चुनौतीलाई सामना गर्ने कसैले आँट गर्ला भन्ने लाग्दैन किनभने उनले बाइबलका चार सुसमाचारबाट मात्र प्रमाण गर्नलाई चुनौती दिएकाछन्। उनको तर्कसँग कति ख्रीष्टियनहरू नै सहमत छन् र सोही तर्क गर्ने गरेकाछन्। डिसेम्बर २५ को आफ्नै ईतिहास रहेको होला र कसरी यस दिनलाई येशू ख्रीष्टको जन्म दिवस मानियो त्यसको पनि छुट्टै ईतिहास रहेको होला। तर ईतिहासले प्रमाण गरेर नहुने उनको तर्क रहेकोछ। प्रमाण गर्नुपर्दा चार सुसमाचारबाट गर्नुपर्ने उनको दाबी रहेकोछ। यो खत्रै चुनौती हो भन्ने मेरो ठहर छ। एकलाखको पुरस्कार कसैले जित्ला भन्ने कुरामा मलाई शंका मात्र होईन तर शुन्य बिश्वास लागेकोछ। यस लेखमा मैले अभिषेक जोशीको प्रश्नको उत्तर दिने कोशिष गरेको छैन, तर ख्रीष्टमसको शुरुवातको संक्षिप्त परिचय दिने र अधिकांश ख्रीष्टियनहरूको समस्त धारणालाई प्रस्तुत गर्न चाहेकोछु।
१. ख्रीष्टियन मण्डलीको ईतिहासलाई हेर्दा ईशाई ईतिहासको तेस्रो शताब्दीसम्म ख्रीष्टमसको प्रथा प्रचलनमा नहरेको प्रमाण हुन्छ। माण्डलिक ईतिहासमा एफिसस र स्मर्णाको युगसम्म ख्रीष्टमस अर्थात बडादिन ईशाईहरूको महान चाड थियो भन्ने कुनै संकेत पाइन्दैन। ईशाई ईतिहासको चौथो शताब्दीदेखि उसो भनौ पर्गामस मण्डलीको समयदेखि चाहिँ यो चाड ईशाई समाजमा चल्तिमा आएको देखिन्छ। पर्गामसको समयपूर्ब मण्डली स्मर्णाको मण्डलीको समयबाट पार भएर गइरहेको थियो जो रोमी सामराज्यको चरम सतावट्को समय थियो। दश रोमी शासकहरूको सयवर्षभन्दा लामो शासनकालमा ख्रीष्टियनहरूलाई चरम यातना र सतावट गरिएको थियो तर अन्त्यमा रोमी शासक कन्स्टेण्टाइनले ख्रीष्टियनहरूमाथिको चरम सतावटलाई अन्त गरेर ख्रीष्टियनहरू देशका असल नागरिकहरू हुन् भनेर देशको सबै मूर्तीपूजालाई नष्ट गरेर ईशाई संस्कारहरू लागु गर्न शूरु गरेका थिए। त्यहि मूर्तिपूजक व्यवस्थालाई हटाउने क्रममा रोमीहरूको एउटा चाड डिसेम्बर २४-२५ मा पर्ने स्यटुरनालिया अर्थात शनिदेवको पूजालाई हटाएर ख्रीष्टमस राखिएको कुरामा ईतिहास साक्षी रहेछ।
२. भन्ने गरिन्छ कि ख्रीष्टमसको शुरुवात एउटा मूर्तिपूजक संस्कारबाट भएको थियो। तर ईतिहासलाई हेर्दा के देखिन्छ भने ख्रीष्टमस आफै मूर्तिपूजक चाड नभएर ख्रीष्टमसले कुनै मूर्तिपूजक चाडलाई प्रतिस्थापन (Replacement) गर्ने प्रयास गरेको थियो। कन्स्टेण्टाइनले पनि प्रतिस्थापन नै गरेका थिए। ईशाईहरूले पनि मूर्तिपूजक चाडलाई निरन्तरता दिएका थिएनन् तर शनि देवको जन्म दिनलाई हटाएर मुक्तिदाता येशू ख्रीष्टको जन्म मानेर मनाउने गरेका थिए। दुखको कुरा के भयो भने कन्स्टेण्टाइनले धेरै मूर्तिपूजक संस्कारहरूलाई हटाउन चाहे पनि उनले आफैलाई त्यस संस्कार बाहिर राख्न सकेनन् किनभने तिनले आफैलाई पोण्टिफ़्यक्स म्यक्सिमस (Pontifex Maximus) को पदमा राखीराखे-जो चाहिँ मूर्तिपूजक दुनियाँका एक मूख्य पूजाहारी थिए। त्यहि समयमा मण्डलीले मूर्तिपूजक संसारसँग साँठगाँठ गर्न थाल्यो अनि मन्दिरका पूजाहारीहरूले मण्डलीको सेवाकाईमा भाग लिन थाले अनि मण्डलीका विश्वासीहरूले मूर्तिपूजक संस्कारलाई मान्न थाले, फलस्वरूप प्रभुले पर्गामसको मण्डलीलाई संसारसँग विवाह गरेको ठान्नुभयो र भन्नुभयो कि “तिमी शैतानकै सिंहशानमा रहन्छौ।” स्मर्णाको समयमा बलिदानको ढुटो धुप बनेर परमेश्वरलाई मिठो बास्ना पुर्र्युन सफल भएको मण्डली अहिले आएर संसारको शासकको आड लिएर पूर्णरूपले संसारिक बन्यो। जब ख्रीष्टियनहरूले संसार र संसारको राजनीतिसँग साँठगाँठ गर्छन् र यस संसारको शासकमाथि आफ्नो सुरक्षाका लागि भरोसा राख्छन् तब संसारको राजनीतिक बिकृतिसँग सम्झौता गर्छन् अनि बिस्तारै संसारसँग एक हुने काम गर्छन्। कन्स्टेण्टाइनले त ईशाईहरूकै भलाईका लागि मूर्तिपूजक संस्कार र चाड्बाड्लाई समेत हटाएर शुद्ध ईशाई संस्कार शुरू गर्न स्वतन्त्रता दिएका थिए तर ईशाईहरूले नै संसार, संसारको राजनीति र त्यसको संस्कारसँग समझौता गरिदिए पछि ईशाई पतनले त्यहाँबाट नै जरा गाड्दै आएकोछ।
त्यसैकारण आज धेरै ख्रीष्टियनहरूले चाहिँ ख्रीष्टमसलाई मूर्तिपूजक चाडको निरन्तरता नभएर यो ईशाई पर्वद्वारा प्रतिस्थापन भएको भनेर मान्ने गरेकाछन्। कसैले यसरी लेखेकाछन्: “एउटा गाउँमा एक भब्य मूर्ति भएको मन्दिर थियो अनि त्यस मन्दिरका सबै मूर्तिहरूलाई हटाएर त्यस भवनलाई गिर्जाघरमा परिणत गरियो भने के त्यो गिर्जाघरलाई मूर्तिपूजाकै मन्दिर मान्न सकिन्छ र? के त्यो मूर्तिपूजक मन्दिरलाई गिर्जाघरले प्रतिस्थापन गर्दैन र?” त्यस्तै गरेर डिसेम्बर २५ पहिला कुनै मूर्तिपूजक चाडको दिन थियो तर ख्रीष्टमसले त्यस मूर्तिपूजक संस्कारलाई हटाएकोछ। यसैले ख्रीष्टमस वस्तवमा प्रतिस्थापन गरिएको एउटा ख्रीष्टियन पर्व हो भनेर धेरैले मान्ने गरेका छन् र यसलाई आत्मिकीकरण गरेर अर्थात यसलाई सकारातमक ढंगले मनाउन सकिन्छ भन्ने धेरैको मान्यता रहेकोछ।
डिसेम्बर २५ एउटा मूर्तिपूजक चाडको दिन थियो भनेर थाहा भए पछि यो दिन नै प्रभु येशू ख्रीष्टको जन्म दिवस थियो भनेर मान्ने कुरा पनि भएन। चार सुसमाचारबाट डिसेम्बर २५ लाई प्रभु येशूको जन्म दिन भनेर प्रमाण गर्ने पनि सम्भवना पनि देखिएन। धेरै जानकारहरूले प्रभु येशू ख्रीष्टको जन्म कुन समय भएको हुन सक्छ भनेर केहि अड्कलहरू दिने गरेकाछन् तर मितिको बारेमा कसैले यकिन गर्न सकेका छैनन्।
३. ख्रीष्ट्मसको आधिकारिक्ता र आवश्यक्ताको बारेमा उठेका जिज्ञासाहरूलाई मैले धेरै बिज्ञहरू र प्रभुका असल दासहरू समक्ष राखेकोछु।धेरैले यसको नकारात्मक पक्षमा जानुभन्दा पनि यसलाई सकारात्मक पक्षबाट हेर्नु राम्रो हुने सल्हा र सुझाव दिएकाछन्।सकारात्मक पक्ष भन्नाले ख्रीष्टमसको आधिकारिक्ता पवित्र शास्त्रबाट प्रमाणित गर्ने आधार नभए तापनि यसको समय र अवसरलाई सकारात्मक ढंगले सदुपयोग गर्न सकिने कुरामा धेरैले बिश्वास राख्ने गरेकाछन्। यहि ख्रीष्टमसको मौसमलाई प्रयोग गरेर संसारका मुक्तिदाता प्रभु येशू ख्रीष्टको जन्मभएको र त्यो मुक्ति हरेक मानिस जातिका लागि उपलब्ध रहेको कुरालाई प्रचार गर्ने एउटा सुवर्ण अवसरकोरूपमा प्रयोग गर्न सकिने धेरैको भनाईछ।सारा दुनियाँले अनि अविश्वासी जगतले समेत प्रभु येशूको जन्मको कुरा गरिरहेका बेला हामी उहाँमा बिश्वास गर्नेहरूले नै उहाँको जन्मको कुरा नगर्ने भन्ने कुरा हुँदैन तर त्यहि समयलाई प्रयोग गरेर एक अदभूत व्यक्ति प्रभु येशू यस जगतमा आउनुभएको कुरा गर्दा उत्तम नै हुने कुरामा धेरैको अडान रहेको पाइएकोछ।
पश्चिमी मुलुकमा त ख्रीष्टमसलाई राष्ट्रिय बिदा, राष्ट्रिय परम्परा र राष्ट्रिय पर्व नै मानिन्छ। यसलाई एउटा बिदा (Holiday) को मौसम मानिन्छ र यस समयमा परिवार, आफन्तजन र इष्टमित्रका लागि एकसाथ समय बिताउने एउटा सुवर्ण अवसरको बनेकोछ। भेटघाट, संगति र आदन प्रदानको सुनौलो समय मौका मिल्दछ। यहि अवसरमा भेटघाट, स्नागति गानभजन र वचनको सेवा समेत गर्न मिल्ने भएकाले यस समयलाई आत्मिक हिसाबले बिताउन सकिने धेरैको मान्यता रहेकोछ ।
मैले यसो भनिरहँदा, मेरा भनाईहरूलाई क्याथोलिकवादबाट अभिप्रेरित धारणा हुन् भनेर पनि भनिन्छ होला, तर म डिसेम्बर २५ लाई नै प्रभु येशूको जन्म दिन भनेर मान्दिन, नता ख्रीष्टमस एक महत्वपूर्ण कुरा हो भनेर भन्छु तर प्रभु येशूले मानवरूप लिएर यस धर्तीमा जन्म लिनुभएको अदभूत सत्यतालाई भने हृदयको अन्तस्करणबाट नै बिश्वास गर्छु। दिन महिना र वर्ष जहिले भए पनि प्रभु येशू यस जगतमा मानवरुपमा जन्मीनु भएकै हो, त्यसैले उहाँको जन्मले हाम्रो जीवनमा निकै महत्वपूर्ण अर्थ राख्दछ।
४. हामी धेरैले यसो भन्ने गरेकाछौं र सुनेकाछौं कि प्रभु येशूको जन्म दिन मनाउनुपर्छ भनेर बाइबलमा कहिँ पनि लेखिएको छैन। प्रभु येशूले आफ्नो मृत्युको सम्झनामा प्रभुभोज मनाउनलाई आग्रह गर्नुभयो तर उहाँले आफ्नो जन्मको उत्सव मनाउनका लागि त्यस्तो कुनै आज्ञा गर्नुभएन। पौराणिक ख्रीष्टियनहरूले पनि प्रभु येशूको जन्म उत्सव मनाएको कतै पाइन्दैन। प्रभु येशू ख्रीष्टको जन्म हुँदा उत्सव मनाईएको थियो तर त्यस पछिका जन्मदिन भने कहिले मनाईएको थिएन।
प्रभु येशूको जन्म हुँदा साँचै नै त्यहाँ हर्ष र उल्लास मनाईएको थियो।लूकाले दिएको विवरण अनुसार गोठालाहरूलाई प्रभुका दूतले एउटा आनन्द र हर्षको शुभ समाचार सुनाएका थिए र स्वर्गीय सेनाहरूले परमेश्वरको प्रशंसा र महिमा गरेका थिए। (लूका २:८-१९) खुसीको खबर यहि थियो कि दाऊदको शहरमा एकजना मुक्तिदाताको जन्म भएको थियो। हर्ष र उल्लासको कारण नै मुक्तिदाताको जन्म थियो। यस समयमा धर्तीका गोठालाहरूले मात्र हर्ष र उल्लास मनाएका थिएनन् तर स्वर्गीय सेनाहरूले पनि त्यस्तै हर्ष र उल्लास मनाएका थिए। प्रभु येशूको जन्मलाई नै केन्द्रविन्दु बनाएर उहाँकै जन्ममा ध्यान माग्न हुनु, उहाँको जन्मको महान सत्यताले भरिनु र त्यहि सत्यताको महिमाले भरिएर उहाँको आराधना, उपासना र भक्ति गर्नु अत्यन्तै बढिया कुरा हो।बिडम्बना चाहिँ के रहेकोछ भने ख्रीष्टमसको अनेक रमझम र तामझामले प्रभु येशूको जन्मको उत्सवको बिशेष उद्देश्यलाई पर सारेकोछ र प्रभु येशूको जन्मको उत्सवलाई मानिसहरूको मनोरन्जन, मर्जी र ख्रीष्टमस ट्रीले प्रतिस्थापन (Replaced) गरेकोछ।
ख्रीष्टमस सेलेब्रेसनका नाममा गरिने अचकाली नाच, मनोरन्जनका आकर्षणहरू र शारीरिक सन्तुष्टिका प्रदर्शनहरू वस्तवमा अपमानजनक ठहरिएका छन् जसले प्रभुको महिमा हुनुको सट्टामा मानिसको महिमा, मानिसको कला र क्षमताको प्रदर्शन हुन गएको देखिन्छ।
कुनै पनि बिषयमा उग्र बिचार राख्नुभन्दा अलिक सन्तुलित बिचार राख्नु नै मेरो बिशेष उद्देश्य रहेकाले म सँधै सन्तुलित बिचार राख्ने गर्छु। यस्ता कति संस्कारका कुराप्रति प्रेरित पावल पनि धेरै संवेदनशील थिए अनि एक सन्तुलित धारणा नै दिने गरेका थिए। पावल लेख्छन्, “कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा बढ़ी महत्त्वको मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ। हरेक मानिस आफ्नै मनमा पूर्ण रूपले निश्चित हुनुपर्छ।जुन व्यक्तिले कुनै दिनलाई विशेष रूपले पालन गर्छ, त्यसले प्रभुको आदरको निम्ति पालन गर्छ। जुन व्यक्तिले खान्छ, त्यसले प्रभुको निम्ति खान्छ, किनकि त्यसले परमेश्वरलाई धन्यवाद दिन्छ। जुन व्यक्तिले खाँदैन, त्यसले परमेश्वरको आदरको निम्ति खाँदैन र परमेश्वरलाई धन्यवाद दिन्छ।” (रोमी १४: ५-६) मैले सन्तुलित ठानेका कुरा तपाईका निम्ति सन्तुलित नभएर सम्झौता गरिएका हुन सक्छन्। मेरो बिचारमा सहमत हुनु र नहुनु तपाईको जिम्माको कुरा हो।
आशा छ यस ब्लगले ख्रीष्टमसको छोटो ईतिहास र संगतिमा रहेका समस्त दाजुभाईहरूको धारणालाई संक्षिप्त जानकारी दिनेछ। कमेन्ट राख्नलाई स्वागत गर्दछु ।
Kevin Pariyar
Springfield MA
Comments
Post a Comment