दिव्य नाम
म आफैभित्रको लडन्तमा सैयौं पल्ट हारेको छु। सोच, बिचार र कार्यमा प्रशस्तै चुकेको छु। निम्न विचार पनि म अरू कोहीभन्दा सहि र ठीक छु भन्ने ठानेर लेखेको होईन। चलिरहेको हुरी बतासले मलाई पनि नउडाएको पनि होईन। यस्तै अन्योलताको भूमरी मडारीरहेको बेला, बिनम्र भएर सम्पूर्ण परिस्थिति र माहोललाई हेर्दा हाम्रो बाटो नकारात्मक ढंगले अगाडी बढ्दै गएको महसुस भयो। अहिलेको सन्दर्भमा हामीले कसो गर्दा असल होला भन्ने बारेमा यो बिचार प्रस्तुत गर्न चाहेको छु। मेरो बिचारमा सहमत हुनु र नहुनु पाठकहरूमै निर्भर रहनेछ। सकेसम्म सबैलाई सकारात्मक नै बनाउनेछु भन्ने आशा राख्दछु।
वर्तमान समयमा उठेका कुराहरूलाई नकारात्मक ढंगले प्रतिकार गर्नुभन्दा अध्यायन र अनुसन्धानलाई कदर गर्नु नै उत्तम हुन्छ। हाम्रा बीचमा आएको परमेश्वरको दिव्य नाम र मुक्तिदाता येशू ख्रीष्ट नामको बिषय अत्यन्तै गम्भीर र सह्रानीय बिषय रहेको छ। जहाँसम्म हिब्रु भाषाको सवाल छ, त्यो पनि एउटा विचारणीय बिषय नै ठान्नुपर्दछ किनभने बिश्वासको मूल त्यहि हो। सकली स्रोत त्यहि हो। यदि हामीले पूराना लेखक जे० एन० डारबी र अन्य कति लेखकहरूको लेखलाई हेर्यौं भने “परमेश्वरको नामको” सन्दर्भमा उनीहरूले अत्यन्तै गम्भीर भएर लेखेका छन्। तर यो बिषय अहिले चल्दा कति भाईहरुले अत्यन्तै उग्र बाटो लिएर गए र कसैको कुरालाई स्वीकार गर्न ईन्कार गरे। समय दिएर एउटा समजदारीमा आउन मानेनन् जसको परिणाम आज जसले यो बिषय उठाउँछ त्यो व्यक्ति पनि ती नै भाईहरूको बाटोमा लागेका हुन् भन्ने गलत बुझाई सबैमा पर्न गयो। उनीहरूको गल्तीको हिलोले अरूलाई पनि छ्याप्ने काम भएको छ ।
पछिल्लो समयमा आएर जसले यो बिषयलाई चर्चामा ल्यायो, सायद त्यो प्रस्तुतिमा निकै कडारुप देखियो या त कति प्रतिक्रिया दिने क्रममा कठोररुप देखियो। कि त त्यहाँ एकोहोरो अडान रह्यो कि त त्यस बिषयलाई प्रस्तुत र प्रचार गरिदिनेहरूले गुठबन्धिको ढाँचाले राखिदिए। कसैले त , Believers in truth नामको Facebook Page बनाएर छुट्टै संजालमा यस बिषयलाई राखेको पनि देखियो। यसो गर्नाले, यस बिषयमा चासो राख्ने र यो बिषयलाई आत्मासाथ गर्नेहरू मात्र सत्यमा रहने हुन् भन्न खोजेको भान पर्ने पनि देखियो। कि त यो बिषयको चर्चा धेरै ढिलो आयो कि त अति चाँडो आयो।
परमेश्वरको नामको बिषयलाई हेर्दा, हिब्रु भाषामा मात्र परमेश्वरको नाम पूकारा गर्नुपर्छ भनेर दाबी गर्नु चाहिँ गलत कुरा हुन्छ। किनभने हरेक भाषामा परमेश्वरलाई पूकारा गर्ने नामवाचक सब्दहरु छन् जो उच्च आदरका साथ सम्बोधन गर्न प्रयोग गरिन्छन र हामीले प्रयोग गर्न पाउनु हाम्रो सौभाग्य पनि हो। यद्यपि सकली हिब्रु भाषामा राखिएका नामले धेरै गहन अर्थ राख्छन् भन्ने कुरालाई हामीले स्वीकार गर्नै पर्छ। जे० एन० डारबीले परमेश्वरको नामको अर्थ र त्यसको सर्वश्रेष्ठताको बारेमा धेरै अध्यायन गरेका छन् । उनले आफ्नो नयाँ अनुबाद बाईबलमा यी हिब्रु नामहरूले कस्तो अर्थ राख्छन् र ती नामको कति धेरै महत्व हुन्छ भनेर उनको नयाँ अनुवाद बाईबलको टिपणीहरूमा प्रशस्त उल्लेख गरेका छन्। जे० एन० डारबीले ती नामहरू जस्ताको त्यस्तै हिब्रुमा राख्नुपर्छ भनेर कहिले भनेनन् तर ती नामले कस्तो अर्थ राख्छ भनेर interpret गरिदिए। उनलाई यस्ता अर्थहरू प्रकाश गरिएको थिएन तर ती सबै ज्ञान उनलाई थियो। त्यसैकारण, प्रिय दाज्युभाई दिदीबहिनीहरू, हामीले अध्यायन, खोज र अनुसन्धानलाई नकार्नु हुँदैन। सकली हिब्रु भाषाका नामले कति धेरै अर्थ बोकेका हुन्छन् भन्ने उदाहरण बाईबलको पहिलो अध्यायको पहिलो पदमा उल्लेख गरिएको परमेश्वरको नाम नै हो।
त्यसैले अध्यायन गर्नेहरूले यी नामको अर्थ खोलेर ब्याख्या गर्नुपर्छ त्यस्ता नामहरूको जटिलता र महत्वको बारेमा सजिलो भाषामा उल्था गरेर बुझाउनु पर्छ जसले हाम्रो ध्यान र भक्तिलाई अझ धेरै बढाउन सकोस्।
अब आयो अहिले सनसनी बनेको मुख्य बिषय -- हाम्रा प्रभुको नाम बिसयमा। नेपालीमा येशू ख्रिस्ट, अंग्रेजीमा Jesus Christ, हिन्दीमा यीशु मसिह, र अरु भाषामा अनेक प्रकारले लेखिएको छ । उहाँको सुरुमा राखिएको नाम के थियो त ? कुन भाषामा के अर्थ दिने नाम थियो त ? Yahshua or Yeshua (येशुआ) हाम्रा प्रभु र मुक्तिदाताको नाम हो।
जब यो बिषयको चर्चा दिनानु दिन बढ्न थाल्यो, मैले पनि धेरै पटक आफ्नो संयमता र धैर्यलाई गुमाएको छु। कति पटक निराश पनि भएको छु। कतै गलत नाम पूकारेर गलत नै व्यक्तिलाई मानीरहेको छु कि भनेर धेरै पटक झस्किएको छु। यस्ता सबै अन्योलताका भूमरीमा मैले प्रश्न उठाएको छु। आफ्नो विचारलाई राखेको छु। असहमति जनाएको छु। आफ्नो प्रतिक्रिया दिएको छु तर व्यक्तिगतरूपले कसैलाई आक्षेप र आरोप भने लगाएको छैन र लगाउने पनि छैन। म अध्यायन,अनुसन्धान र खोजलाई सम्मान गर्दछु। जानेका र बुझेका कुराहरूलाई अरूको बुझ्न सक्ने क्षमताको बिपरित लागु गरिहाल्नु पर्छ भन्ने कसैको विचार हो भने म त्यस कुरामा असहमति जनाउँछु। बुझेका कुरालाई छलफल गर्नुपर्छ। एउटा संयुक्त अडानको निर्माण गर्नुपर्छ तर कसैले एकोहोरो अडान लिनुहुँदैन। बिना परामर्श, आपसी छलफलबिना कसैले कसैलाई खसाल्ने, खोईरो खन्ने र धकेल्ने कार्यमा लाग्नु हुँदैन। यस्तो लाग्छ कि आफु सहि रहेको दाबीमा हामी आफै एक आपसी संग्रामको बाटोमा लागिरहेका छौं। बिचार नमिल्दैमा हाम्रो बाटो फ़ाट्नुपर्छ अर्थात फरक भइहाल्नु पर्छ भन्ने कुरामा म मान्यता राख्दिन। बिगतका अनेक फाटोहरू कुनै सैद्धान्तिक नभएर मात्र फरक मतका परिणाम थिए। बिचारमा फरक भएता पनि आपसी मिलाप र शान्तिको बाटोमा हिँडेको मैले धेरैलाई देखेको छु।
हाम्रो समाज नै विविधताको समाज हो। विविधताभित्रको एकता भन्ने नियम नै हाम्रो समाजको पहिचान हो।अहिले त हामी राष्ट्रिय विविधता,जातिय विविधता,भाषिक विविधता भएको ठाउँमा रहेकाछौं। यहि विविधताको ठूलो क्षेत्रफललाई देखेर नै पावललाई पनि लागेको थियो कि सबै मानिसहरू एउटै कुरामा कति पटक सहमत हुन् सक्दैनन्। यस्तै असहमतिको बिशाल पहाड फोर्दै पावलले रोमी १४ अध्याय लेखेका थिए। सम्पूर्ण अध्यायलाई एक पटक राम्ररी पढेर हेर्दा थाहा लाग्छ कि एउटा भाईले एउटा कुरा मान्दछ भन्दैमा अर्कोले पनि त्यहि अनुरुप गर्नुपर्छ भन्ने बाध्यता छैन। “…. खानेले नखानेलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्, किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ.…… एउटाले एक दिनलाई अर्को दिनभन्दा ठूलो मान्छ,औ अर्कोले सबै दिनलाई एकैनासको मान्दछ। हरेक मानिसले आफ्नो मनमा पूरा निश्चय गरोस्। दिन मान्नेले प्रभुको निम्ति मान्छ, र खानेले प्रभुको निम्ति खान्छ, किनभने त्यसले परमेश्वरलाई धन्यबाद चडाउँछ, औ नखानेले प्रभुको निम्ति खाँदैन, र त्यसले परमेश्वरलाई धन्यबाद चडाउँछ।”(रोमी १४:३-११) “किनभने हामी हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ।” (रोमी १४:१२) यहाँ खाने र पिउने कुराको कठिनाइ मात्र उल्लेख छैन तर दिनहरू मान्ने जस्ता कुराहरू पनि उल्लेख छन्। “मेरो गोरुको बाह्रै टक्का” भन्ने नेपाली उखान जस्तै आफ्नो अडानहरूमा कट्टरपन्थी नबन्न सल्हा दिएको छ। उक्त पदहरूलाई हाम्रो अहिलेको सन्दर्भमा जोडेर हेर्दा ठिक त्यस्तै आचरण राख्नु पर्ने देखिन्छ।
यहि दुई नामको बारेमा चलेको फरक मत मात्र हो भने, यहाँ झूटो शिक्षा र खराब सिद्धान्तको दोष कसैलाई लाग्दैन र लगाउनु पनि हुँदैन। सचेत चाहिँ रहनुपर्छ कि यसरी पवित्र नाममा मात्र जोड दिने धेरै अरु सम्प्रदायका मानिसहरु पनि छन् जसले धेरै डरलाग्दो र झुटो सिक्षा मान्छन र सिकाउछन। ति झुटा सिक्षासंग सहमति, सहकार्य, र अभ्यास छ वा छैन भनि पहिले टुंगो नलगाईकन अन्धासुरमा बिरोध गर्नु अति अपरिपक्क ठहरिन्छ। उनीहरुले अघि सरेका कुराको श्रोत के हो सो जान्नु पर्छ र मात्र सहि तर्कले सभ्यतासाथ जवाफ दिनु पर्छ। सत्य डग्दैन र झुटो तग्दैन भन्ने कुरा हामीले सुनेका हौं।
निम्न श्रोतबाट अनुसन्धान गर्नु होस् ;
1. Strong’s Concordance H3068, H3091, H3467,H3442, H3443, H1954, G2424 and so on.
2. “Divine titles and their Significance” by A. J. Pollock available at STEM Publishing : A J Pollock : Divine Titles and their Significance.
3. अर्का लेखक Walter Scott ले Bible Handbook को page # 55 देखि उसोमा यी नामहरूको बारेमा सक्दो ब्याख्य गरेका छन्। यो पुस्तक पनि STEM Publishing मा छ।
अन्त्यमा म यहि भन्न चाहन्छु कि हामी आपसी लडाई नगरौं। एक आपसमा सहनशीलता र क्षमाको बाटोमा हिंडौ। “तिमीहरू आपसमा शान्तिमा बास गर” भन्ने प्रभुको महान आज्ञालाई शिरोपर गर्दै, निर्बल र दुर्बलहरूको पनि ख्याल राख्दै भाई भाईको प्रेममा निर्माण हुँदै जाओं। आफ्नो अडानमा कोहि पनि कसिलो र सुरिलो नबनौं। यो गडबडी मात्र हो, छलफल र आपसी सहमतिबाट समजदारी गर्ने अझै समय छ। धैर्यता धारण गरौं। एकले अर्काको निम्ति अटुट प्रार्थना गरौँ। कसैले कसैलाई व्यक्तिगत आक्षेप लगाउने, श्रापित भाषाको प्रयोग गरेर कसैलाई गाली गर्ने जस्ता अपरिपक्क ब्यबहार नगरौं। चित्त नबुझ्ला तर चित्त बुझेन भन्दैमा मर्यादा गुमाउनु पनि त भएन । Yeshua भनेर पूकारा गर्न चाहनेहरूलाई त्यहि अनुरुप पुकार्नलाई स्वतन्त्रता दिइनुपर्छ अनि चल्तिमा रहेको JESUS नामलाई प्रयोग गर्न चाहनेहरूलाई पनि स्वतन्त्रता दिइनुपर्छ किनकि सम्बोधन गरिएको प्रभु एकै हुनुहुन्छ।
प्रभु येशू ख्रीष्टको अनुग्रह सबैमा रहोस् ।
केविन परियार
Springfield MA 01/2020
Comments
Post a Comment